विज्ञान विषयको विशिष्टिकृत विद्यालय बन्दै कान्ति मा.वि.

387

बुटवल । 
लुम्बिनी प्रदेशमा रुपन्देही, दाङ र बाँके जिल्लामा रहेका गुणस्तरीय शिक्षामा अग्रसर भएका केही विद्यालयहरुमा विशिष्टिकृत शिक्षा प्रणाली लागु गरिने भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार संघीय सरकार र प्रदेश सरकारको संयूक्त लगानीमा प्रदेशमै पहिलो विज्ञान विषयको विशिष्टिकृत विद्यालयका रुपमा बुटवलस्थित कान्ति माध्यमिक विद्यालयलाई विकास गर्ने योजना अघि सारिएको छ ।

स्थापनाकालदेखि नै बुटवल र आसपासको क्षेत्रमा शिक्षाको ज्योती फैलाउन सफल, शैक्षिक नतिजामा पटकपटक पश्चिमाञ्चल प्रथम र प्रदेश प्रथम समेत भइ राष्ट्रिय ध्वजा प्राप्त गर्न समेत सफल यो विद्यालय विज्ञान विषयमा विशिष्टिकृत विद्यालय बन्ने योजना स्वीकृत भइ कार्यान्वयको चरणमा प्रवेश गरिसकेको मन्त्रालयले जनाएको छ ।

करिब २० करोड रुपैयाँको लागतमा निर्माण गरिने सो विशिष्टिकृत विद्यालयमा विज्ञान विषयमा गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न लायक जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको मन्त्रालयको भनाइ छ ।

विगतदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कान्ति मा.वि. मा विज्ञान विषयको नतिजा राम्रो आएको, भौतिक पूर्वाधार विकासका निम्ति प्रयाप्त ठाँउ रहेको र स्थानीयस्तरमा शिक्षक, अभिभावक तथा शिक्षा प्रेमीहरुबाट विद्यालयको विकासको लागि चासो पनि व्यक्त गरिएकोले उक्त विद्यालय चयन गरिएको मन्त्री सुदर्शन बरालले बताए ।

पश्चिम नेपालकै ऐतिहासिक विद्यालय कान्ति माध्यमिक विद्यालयलाई विज्ञान र गणित विषयमा विशिष्टिकृत विद्यालय बनाउने निर्णय भएसँगै शिक्षक, विद्यार्थी, अभिभावक सबैमा उत्साह छाएको छ । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम र सफल जनशक्ति उत्पादन गरेर गर्विलो इतिहास बोकेको सो विद्यालयले यस क्षेत्रको शिक्षाको विकासमा महत्वपूर्ण भुमिका खेल्दै आएको विद्यालयका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले समपुरक अनुदान अन्तर्गत संघीय सरकार र प्रदेश सरकारले लगानी गर्ने तथा विज्ञान विषयमा विशिष्टिकृत विद्यालय बनाउने महत्वपुर्ण योजना सुरु भइसकेको बताए । प्रअ ज्ञवालीका अनुसार विशिष्टिकृत विद्यालयको मुख्य भवनको टेण्डर भइ ठेक्का सम्झौता सम्पन्न भइसकेको र निर्माणको काम पनि शुरुवातको चरणमा पुगेको छ । यो कार्यक्रमलाई क्रमश : विभिन्न जिल्लामा लागु गर्ने गरी योजना बनाइएको तथा प्रारम्भमा रुपन्देहीको बुटवलस्थत कान्ति मा.वि.मा परियोजना लागू गरिने सामाजिक मन्त्रालयले जनाएको छ । विज्ञान र गणित विषयमा प्रदेशमा नमुना विद्यालय बनाउने नयाँ र महत्वाकांक्षी योजना भएको दावी गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले केही विद्यालयलाई प्रदेशकै नमुना बनाउने अठोटका साथ प्रदेश सरकार अघि बढेको बताए ।

new building.pngकरिब ३ हजार ५ सय विद्यार्थी र १ सय ५० जना शिक्षक तथा कर्मचारी रहेको कान्ति मा.वि.मा विज्ञान, व्यवस्थापन, मानवशास्त्र र शिक्षाशास्त्र विषयमा पढाई हुने गरेको छ । चुस्तदुरुस्त प्रशासन, संरचनागत सुधार, विषयगत सिकाई अभ्यास, सचेत अभिभावक र सक्रिय व्यवस्थापन समिति यस विद्यालयका विशेषताहरु हुन् । लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा पर्यटन र कानुन विषयमा स्नातक तहको पढाइ संचालन भइरहेको सो विद्यालयले आगामी दिनमा आफै स्नातक तहको पढाइ संचालन गर्ने योजना रहेको विद्यालयका अध्यक्ष हेमानन्द शर्माले बताए ।

 

कमेन्ट गर्नुहोस !

No description available.
SHARE