‘कोभिडमा पनि बैंकहरु विचलित भएनन्, यसमा गर्व गर्नुपर्छ’

124

१९ मंसिर, काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष उपेन्द्र पौड्याल यतिबेला नविल बैंकको अध्यक्ष छन् । उनी बैंकिङ क्षेत्रमा ३ दशक भन्दा लामो समय कार्यकारी नेतृत्व लिएर अहिले उनी बैंक सञ्चालक समितिको अध्यक्ष बन्न पुगेका हुन् ।

सन् १९८६ मा ग्रिण्डलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेका पौड्याल त्यहाँ १४ वर्ष बिताएर एनएमबी फाइनान्समा पुगे । एनएमबी फाइनान्स वाणिज्य बैंक हुँदासम्म १७ वर्ष र नविलमा ३ वर्षसहित ३४ वर्षको बैंकिङ अनुभव लिएका पौडैल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष थिए । प्रस्तुत छ, भेट्रान बैंकर पौडैलसँग बैंकिङ क्षेत्रको समसामायिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

लामो समय सीईओ भएर काम गर्नु भएको मान्छे अहिले अध्यक्ष हुनुहुन्छ । सीईओको कुर्सी र बोर्ड अध्यक्षको कुर्सीमा बसेर काम गर्दा के फरक पाइरहनु भएको छ ?

म सीईओ भएर काम गर्दा बैंकको बोर्ड र व्यवस्थापनबीच एउटा बाउन्ड्री, बोर्डर लाइन थियो, त्यसलाई न हामीले क्रस गर्यौं न त बोर्डलाई क्रस गर्न दियौं । बोर्डमा हुने सबै जना बैंकिङ बुझेकै हुन्छन् भन्ने हुँदैन । सुरुमा आएका ग्रीनलेज, नविल लगायत बैंकले राम्रो कमाए भनेर पनि धेरै बैंकहरु खोलिए ।

बैंकिङ बुझ्न समय लाग्छ । यी कुराहरु हामीले पहिलेदेखि नै बुझेका थियौं । यसकारण म बोर्डमा हुँदा पनि सहज भएको थियो । बोर्डमा रहनु भएका सबैसँग समन्वय हुन्थ्यो, हस्तक्षेप हुँदैनथ्यो । सीईओको भूमिकामा बोर्डमा आउनु हुँदैन । बोर्डलाई तल पारेर सीईओले काम गर्नु हुँदैँन ।

सीईओले के–के गरिरहेको छ ? राम्रो गरेको छ कि छैन भन्ने कुराहरु बोर्डले हेर्नुपर्छ । राम्रो निर्णयलाई सदर गर्ने र कमजोरी देखिए सच्याउनु पर्छ । व्यवस्थापनले आवश्यक सूचनाहरु बोर्डमाा पुर्याउनु पर्छ । बोर्ड र व्यवस्थापनमा चेक एण्ड ब्यालेन्स हुनुपर्छ ।

मैले मेरो भूमिका राम्रोसँग बुझेको छु । सीईओपछि सञ्चालक बनेर आएँ । अहिले अध्यक्ष पनि भएको छु । यहाँ आएपछि मैले व्यवस्थापनसँग छलफल गरेको छु । नविलकै बोर्डको कुरा गर्ने हो भने यहाँ प्रोफेसनल बैंकरहरु छौं । बैंकको स्वतन्त्र सञ्चालक ल्याउँदा आफ्नो मान्छे ल्याउने प्रचलन पनि छ । तर हामीले आफ्नो होइन विज्ञ मान्छे खोज्यौं । सनराइज बैंकको डेपुटी सीईओबाट अवकास लिनु भएका, धेरै पटक कार्यबाहक सीईओ भइसक्नु भएका आशाजीलाई हामीले बोर्डमा ल्यायौं ।

भारतको ठूलै बैंकको सीईओ भइसकेका अर्को एकजना पनि बोर्डमा हुनुहुन्छ । केही समय अघिसम्म अर्का बैंकर पनि हुनुहुन्थ्यो । हामीलाई बोर्डको फर्मेसन यसरी गर्नुपर्छ भन्ने लाग्छ । हाम्रो पुस्ताका बैंकरहरु रिटायर्ड हुँदैछौं । अब यी बैंकरहरुलाई बैंकले समात्नु पर्छ । यो प्रक्रिया सुरु भयो भने बैंक अझ राम्रो हुनेछ । ठाउँमा बसेर आफूले काम गर्नलाई अप्ठेरो भने अलिअलि हुने रहेछ ।

अझै केही वर्ष कार्यकारी भूमिकामा रहनु पर्छ भन्ने सोच्नु भएन ?

म कार्यकारी भूमिकाबाट रिटायर्ड हुँदा ५७ वर्षको थिएँ । त्यो भन्दा केही वर्ष पहिले नै कार्यकारी भूमिकामा रहन्न भन्ने सोचेको थिएँ । अब देशको अर्थतन्त्र विकासका लागि केही भूमिका खेल्नु पर्छ भन्ने लागेको थियो । माइक्रो लेभलमै जान्छु भन्ने सोचेँ । त्यसैले उमेर छँदै मैले छोडेको हुँ ।

राज्यको जिम्मेवारी नै लिन कति योग्यता चाहिन्छ भन्ने कुरा मैले बोल्न मिल्छ कि मिल्दैन थाहा छैन । तर राज्यको जिम्मेवारी पाउन मेरो योग्यता नपुग्ने रहेछ । त्यसपछि विश्वव्यापी रहेको ‘भ्यालू बेस बैंकिङ’ को कन्सेप्टमा काम गर्ने सोचेँ । यसका सदस्य बैंकहरु हुन्छन् । यसको प्रधान कार्यालय नेदरल्याण्डमा छ । यसका च्याप्टरहरु विभिन्न ठाउँमा छन् । ल्याटिन अमेरिकामा यसको छुट्टै कार्यालय छ । नर्थ अमेरिका, अफ्रिका, युरोपका साथै दक्षिण एशियामा पनि छुट्टै च्याप्टर छन् । दक्षिण एशियाको नेतृत्व गर्न अफर आएपछि जिम्मेवारी लिएँ ।

भ्यालु बेस बेंकिङ, सन्टेनेवल बैंकिङ वा रेस्पोन्सिवल बैंकिङ भन्नुस्, म त्यसको एसिया प्यासिफिकको प्रतिनिधित्व गर्छु । यहीबीचमा बोर्डमा आउनु पर्छ भनेर आग्रह भएपछि सञ्चालक भएँ । अहिले अध्यक्ष छु ।

भनेपछि, बैंकहरुमा अब आउने बैंक सञ्चालक समिति भने निकै बलियो र सक्षम हुने देखियो ?

समग्रमा बैंकहरुमा अब आउने बोर्ड निकै सक्षम हुन्छ । बैंकहरुले अब रिटायर्ड हुने हाम्रो पुस्ताका बैंकरहरुलाई ल्याउनु पर्छ । नियामक निकायले पनि यतातिर ध्यान दिनु पर्छ । हामी बैंकको सञ्चालकमा आएका छौं भने अरु व्यवसाय गर्न मिल्दैन । यसतर्फ पनि सोचिनु पर्छ । यसले बोर्ड थप बलियो हुन्छ । यस्तो अभ्यास सुरु भएको पनि छ । लक्ष्मी बैंकका पूर्व सीईओ सुदेशजी पनि अहिले सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक हुनु भएको छ ।

नविलको बोर्डदेखि व्यवस्थापनसम्म अनुभवी बैंकरहरुको नेतृत्व छ । यो टिमले नविललाई कहाँसम्म पुर्‍याउने सोच्नु भएको छ ?

नविल बैंकले बैंकिङ क्षेत्रमा सधै ‘लिड’ गरिरहेको छ । फेरि लिड भनेर मुनाफालाई मात्रै हेर्नु हुँदैन । बैंकको साइज कत्तिको छ भनेर हेर्नुपर्छ । आजको दिनमा मर्जरको कारणले बैंंकहरु ठूलो भएको होलान् । कुनै बैंक मर्जर बाहेक पनि ठूलो भएका छन् । यसरी हेर्नुहुन्छ भने नविलले नै लिड गरिरहेको छ ।

बीचमा राष्ट्रिय वाणिज्य बैंकले नाफामा नविललाई उछिन्यो नि ?

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक भनेको सरकारी बैंक हो । सरकारी र हामीमा फरक छ । दुवै सरकारी बै‌ंक लामो इतिहास बोकेको बैंक हो । दुवै बैंकको काम गर्ने तरिका पनि अलि फरक होला । सरकारले त्यसरी जिम्मा दिने हो भने त हामी पनि अर्कै हुन्छौं । मुख्य कुरा म नाफाको कुरा गर्ने बैंकर होइन । बैंकले सही र सहज सुविधा दिनु पर्छ भन्ने हो । नाफाले मात्रै लिडिङ हुँदैन ।

नविलले पनि त मर्जरका विषयमा केही सोचेको होला नि ?

राज्यको नीति नियम सबैले पालना गर्नुपर्छ । राष्ट्रिय नीति नै भएका कारण उपयुक्त पार्टनर पाएको खण्डमा हामीले पनि मर्जरमा जाने सोचेका छौं । हाम्रा कमजोरीहरु हटाउने खालको बैंक पाए मर्जरमा जान्छौं । हामी लिडिङ पोजिशनमा छौं, तर लिड गर्ने भन्दैमा अनावश्यक रुपमा आक्रामक हुँदैनौँ ।

यतिबेला कोभिडको त्रास धेरै घटेजस्तो देखिन्छ, बैंकिङ क्षेत्रको वर्तमान अवस्था चाहिँ कस्तो देख्नुहुन्छ ?

नेपालको बैंकिङ क्षेत्र धेरैमाथि पुगिसकेको छ । यो परिपक्व पनि भइसकेको छ । यो क्षेत्रलाई बेलाबेला विभिन्न कारणले नकारात्मक असर पनि पारिह्यो । त्यो हामीले पटक पटक भोग्यौं । समयसमयमा नियम पनि परिवर्तन भएर आइरहेका छन् । यसले बैंकहरुमा केही परिवर्तन भइहाल्छ । यसलाई आत्मासात गरेर बैंकर्सहरुले बैंकलाई राम्रो बनाएका धेरै उदाहरण हामी माझ छ ।

हाम्रो यहाँ रियल स्टेटको इन्भेष्टमेन्ट, सेयर बजारको क्रन्च, तरलता अभाव लगायत समस्याहरु आइरहे । कहिले तरलता अभाव कहिले अधिक तरलता हुने समस्याहरुबाट हामी गुज्रिरहेका छौं । यसको बावजुद बैंकहरु राम्रैसँग अघि बढिरहे । २०७२ सालको महाभूकम्पले ठूलो असर पर्यो । त्यसपछि लगत्तै नाकाबन्दी आयो ।

त्यसबेला म बैंकर एशोसिएसनको अध्यक्ष थिएँ । हामी बैंकिङ क्षेत्रलाई निकै ठूलो असर पर्छ भनेर आत्तिएका थियौं । त्यसबेला यो कुरा बाहिर भन्न मिलेको थिएन । हामीबीच छलफल हुन्थ्यो । पछि सहज भयो ।

अहिले कोभिडको असर त्यस्तै परेको छ । कोरोना नियन्त्रणका लागि लकडाउन गरियो । लकडाउन पछि व्यापार व्यवसायहरु ठप्प भए । अहिले पनि पूरै व्यवसायहरु सुचारु हुन सकेका छैनन् । निर्माणाधीन आयोजनाहरुलाई पनि असर परेको छ । आयोजनाहरु निर्धारित समयभन्दा ढिला सम्पन्न हुने भएका छन् ।

कोभिडको असरले बैंकिङ क्षेत्रमा परेको परेको प्रभाव कस्तो हुन्छ भन्ने अन्योल नै छ । पहिलो त्रैमासमा प्रभाव कम देखिएको छ । बैंकहरुले गर्ने काम गरिरहेको भन्ने देखिएको छ । कोभिड अगाडि नै राष्ट्र बैंकले स्प्रेड रेट घटाइदिएको थियो । त्यसले नाफा घटाएको छ । बैंकहरुको नाफा कम हुनुको कारण पनि त्यही हो ।

अहिले व्यवसायहरु सञ्चालन हुन थालेका छन् । काठमाडौं उपत्यका बाहिर कन्फिडेन्स बढेको छ । चिया पसलहरुमा मान्छेले मास्क पनि नलगाइ बस्न थालेको देखिन्छ । कोरोना भ्याक्सिन नेपाल आउन त केही समय लाग्ला, तर त्यो बनिसक्यो भनेपछि कन्फिडेन्स बढेकै छ । यसकारण अब लामो समयसम्म असर रहँदैन भन्ने सोचेका छौं ।

लामो समय लकडाउन हुँदा बैंकिङ क्षेत्रले सकेसम्म राम्रो तरिकाले सुविधाहरु दिने कोसिस गर्‍यो । उच्च सुरक्षा सावधानी अपनाएर बैंकहरुका काउन्टर खुला भए । प्रविधि प्रयोग गरेर कारोबारहरु गर्न सकियो । एटीएम बुथहरुमा पनि पैसा राख्ने काम भयो । धेरै बैंकका कर्मचारीहरु संक्रमित भएपनि सेवा रोकिएन । यस्तो विषम परिस्थितिमा पनि बैंकहरुले सेवा सुचारु राखिरहे ।

छोटो रुपमा भन्नु पर्दा कोभिडको असर समग्र अर्थतन्त्रमा पर्यो । जसले बैंकिङ क्षेत्रलाई पनि नकरात्मक असर पर्यो । तरपनि अहिले बैंकिङ क्षेत्रको अवस्था नराम्रो छैन, यत्तिको अवस्था ठिकै छ । अब उद्योग व्यवसायहरु पूर्ण रुपमा सुचारु भएपछि बैंकहरु निकै राम्रो हुनेछ । अर्थतन्त्रले पनि गति लिनेछ ।

पछिल्लो रिपोर्टले देखाएको बैंकहरुको नाफामा परेको असर ‘स्प्रेड रेट’को मात्रै हो र ?

मुख्य कारण चाहिँ स्प्रेड रेट नै हो । कोभिडको कारण पनि छ । कोभिडका कारण ग्रोथ हुन सकेको छैन । उठ्नु पर्ने पैसा उठेको छैन । केन्द्रीय बैंकले भाका केही पर सारिदिएको छ । कोभिडको असर नपर्ने भन्ने कुरै भएन । कोरोनाको असर त चौतर्फी नै हो ।

साउन मसान्तसम्म खासै कर्जाको माग अहिले निकै बढेको देखिन्छ । यो कतै एभरग्रीनिङ (कर्जा तिर्न कर्जा) त होइन ?

एभरग्रीनिङ पनि होला । हाम्रो पुस्ता जुन बैंकमा छ, यो पुस्ताले बैंकिङ क्षेत्रको मर्म बुझेको छ । यो पुस्ताले एभरग्रीनिङलाई प्रोत्साहन गरेको छैन । नविलको कुरा गर्नुहुन्छ भने, एभरग्रीनिङ गर्ने काम नविलले कहिल्यै गर्दैन ।

बैंक राम्ररी सञ्चालन गर्नुपर्छ भन्ने हाम्रोमा संस्कार छ । यसले बैंकलाई राम्रो बनाएको छ । कोभिडको चुनौतीकालमा पनि व्यालेन्स अफ पेमेन्ट राम्रो देखिएको छ । तर यो राम्रो हुनुको कारण खर्च हुन नसकेर हो । अन्य कुरा सबै ठिकै छ ।

एभरग्रीनिङ गलत परिपाटी हो । बैंकहरुबीच स्वस्थ प्रतिष्पर्धा हुनुपर्छ । यो वर्ष हामीले अझ धेरै राम्रो गर्छौं भन्ने सोचेका थियौं । यस्ता समस्याहरुमात्रे होइन म बैंकको संस्थागत संरचना नै परिवर्तन गर्नुपर्छ भन्नेमा लागिरहेको छु । दिगो बैंकिङ भनेर छुट्टै शाखा स्थापना गर्ने तयारी गरिरहेको छु, जसले कम्युनिटीमा उत्तरदायी बैंकिङको काम गरोस् । अर्थतन्त्र उत्थानमा सहयोग पुगोस् ।

कुनै ठाउँमा शाखा खोलेर २ जना कर्मचारी कुरेर बस्ने होइन । तिनीहरुले १० वटा होस् या १५ वटा होस्, लोन दिउन् । त्यसैकाकारण छुट्टै शाखा खोल्न खोजेको । त्यसका लागि योग्य व्यक्ति भने पाइसकेको छैन । तपाईंको प्रश्नको कुरा जहाँसम्म छ, अहिले एभरग्रीनिङ भएको छ भन्ने मलाई लाग्दैन ।

बैंकिङ क्षेत्रलाई अझ सवल बनाउन के–के नीतिगत सुधार आवश्यक देख्नु हुन्छ ?

राष्ट्र बैंकले ल्याएका नीतिहरु राम्रा छन् । कोभिडको समस्यापछि बैंकिङ क्षेत्रले के गर्नु पर्छ भन्ने कुराहरु आइरहेका छन् । अहिलेका गभर्नर हामीले आँ गर्दा अलंकार बुझ्ने हुनुहुन्छ । हामीलाई फाइदा मात्र हुने नीति ल्याउनु पर्छ भन्दैनौँ हामी । ल्याउन लागेको नीतिमा स्टेकहोल्डरहरुको सुझाव भने समेटिनु पर्छ । यो मेरो अपिल हो ।

बैंकिङ पहुँच विस्तार गर्नका लागि धेरै काम भइरहेको छ । यसमा सबै काम बैंक तथा वित्तीय संस्थाहरुले मात्र गर्न सक्दैनन् । यस विषयमा सोचियोस् । अर्को भनेको हामीलाई तरलताको समस्याले बेलाबेलामा पिरोल्छ । अस्तिसम्म हामीले निक्षेप तान्न १३ प्रतिशतसम्म ब्याज दिनु पर्‍यो । अहिले फेरि बचतको रेट १.५ प्रतिशतसम्म आइसक्यो । कल डिपोजिट चाहिँदैन भन्नुपर्ने अवस्था छ । कहिले कुन समस्या, कहिले कुन समस्या छ । यसलाई रोक्ने नीति खै त ? यसमा ध्यान दिनुपर्छ ।

 

कमेन्ट गर्नुहोस !

No description available.
SHARE